दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१० भाद्र,२०८२
हिन्दु नेपाली महिलाहरुको विशेष पर्वको रुपमा रहेको हरितालिका तिज एक महत्वपुर्ण पर्व हो । सत्ययुगमा पार्वतीले शिव स्वामी पाँउ भनि ब्रत बसेको र पछि ब्रतसिद्ध हुदैँ शिवलाई पतिको रुपमा पाएको किंवदन्तीमा आधारित तिज पर्वको आफ्नै विशेषता र महत्व रहेको छ । तिजका दिन महिलाहरु बिहानै देखी निराहार ब्रत बसी नजिकका शिव मन्दिरहरुमा पुजाआराधाना गर्दै आफ्ना पतिको दीर्घजीवनको कामना गर्ने तिज संस्कृतिको विशेषता र पहिचान हो ।
तर यतिबेला तिज सँस्कृति पनि विकृतिका रुपमा अघि बढेको छ । तिजको अवसरमा गाउँमा पाइने विभिन्न अर्गानिक खाद्यबस्तुहरु र फलफुललाई दरको रुपमा खानुका साथै आफन्तजनसँग रमाईलो गर्ने प्रचलन यतिबेला लोप भएको छ । तिजको अघिल्लो साँझ मात्र खाइने दर एक महिना अघिदेखी महंगो र खर्चिलो खानपानका साथै मदिरा समेत खाएर रमझम गर्ने प्रवित्ति एकातिर बढेको छ भने अर्कोतिर अरुको देखासिकि गर्दै तिजको महत्व समेत अस्थिर हुदैँ गइरहेको छ । जसलाई तराँई र शहरी क्षेत्रमा व्याप्त विकृति विसंगती पहाडी क्षेत्रमा समेत बनमारा जस्तै फैलिइरहेको छ।
दैलेखमा पनि हरितालिका तिजको अवसरमा विभिन्न शत्तिपिठहरु र शिव मन्दिरहरुमा मेला लागेको छ । विशेष गरि दैलेखको पञ्चकोशी क्षेत्रका विभिन्न मठमन्दिरहरुका साथै दुल्लुमा रहेको सिद्धस्थली मन्दिरमा तिजको ब्रत बसेका श्रद्धालु महिलाहरुको पुजाआजाको लागि भिँड लागेको छ । तर ति स्थानहरुमा समेत विगतको भन्दा भिन्न दृष्यहरु देखिएका छन । महिलाहरु पुजाआजा भन्दा टिकटक र फेसबुकका रिलहरु बनाउनमै मस्त देखिएका मात्र छैनन् विगतका दिनहरुमा परम्परागत मादलको तालमा गाउँदै रमाउँदै गर्ने उनिहरु मन्दिर परिसरमै डेगमा तिजका गित बजाएर नाच्न र रमाउन थालेका छन । जसप्रति केहि महिलाहरु र जानकार व्यक्तीहरुले चिन्ता व्यक्त गरेका छन ।

यसरी विगतको भन्दा यो वर्ष तिज पर्व सामान्य तया देखासिकि र मनोरञ्जनमा परिणत भएको छ । मौलिक रितिरिवाज र सनातन धर्ममा आधारित तिज पर्व समेत सँस्कृतिबाट बिकृति तर्फ उन्मुख हुनु आफैमा दुःखको कुरा हो ।









