दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
११ भाद्र, २०८२
महिला ,बालवालिका तथा लोपउन्मुख पिछडिएका समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले आफ्नो २८औँ वार्षिकोत्सव,साधारण सभा तथा अधिवेसन आज दैलेखमा सम्पन्न भएको छ । सिमान्तकृत आदिबासी कुुसुन्डा लगाएत लोपउन्मुख राउटे समुदायको जिवनस्तरमा सुधार ल्याउनको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम सहित समाजमा विद्यमान कुरिति कुसँस्कार लगाएत पछिल्लो समय सोसेक नेपालले विकासनिर्माणका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ । कर्णाली प्रदेश लगाएत अन्य विभिन्न १० जिल्लाहरुमा करिब ३३ वटा परियोजना मार्फत शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत जनचेतना र सामाजिक उत्तरदायित्वको क्षेत्रमा विगत स्थापनाकाल देखि समाजसेवाको काम गर्दै आएको सोसेक नेपालले यतिबेला आफ्नो २८औँ वार्षिकोत्सव,साधारण सभा तथा अधिवेसन सम्पन्न गरेको हो ।
जिल्ला समन्वय समितिको हल दैलेखमा आयोजित उक्त कार्यक्रमको समुद्धघाटन कार्यक्रममा सोसेक नेपालका कार्यसमिति पदाधिकारीहरु, साधारण सदस्यहरु, सोसेक नेपालका कर्मचारीहरु ,जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु लगाएत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सोसेक नेपालकोे २८औँ वार्षिकोत्सव,साधारण सभा तथा अधिवेसनलाई उद्धघाटन गर्दै दैलेख बाट प्रतिनिधिसभा सदस्य एवं शिक्षा विकास समितिका सभापति अम्मर बहादुर थापाले कागजका पानामा ठुला सपना देखाएर देश विकास नहुने भन्दै व्यवहारिक परिवर्तन आजको आवश्यकता भएको बताउनुभयो । कार्यक्रमलाई शुभकामना मन्तव्य राख्दै सभापति थापाले देशका नागरिकहरु गरिबिको रेखामुनी भएकाले देशविकासमा विभिन्न संघसंस्थाहरुले चुनौतिका साथ काम गर्नुपर्नेमा जोड दिदैँ सोसेक नेपालले समयसापेक्ष काम गरेको प्रति खुशी व्यक्त गर्नुभयो ।

सोसेक नेपालको २८औँ वार्षिकोत्सव,साधारण सभा तथा अधिवेसनको क्रममा बोल्दै सोसेक नेपालका अध्यक्ष मञ्जु थापाले सोसेक नेपालले महिला र बाललालिकालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको सन्दर्भ उठान गर्दै आगामी दिनमा थप बलियो बनाउनका लागि गुरुयोजना बनाएर अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रमको अबसरमा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सोसेक नेपाल आवाज विहिनहरुको आवाजको रुपमा काम गर्दै आइरहेको बताउदै शुसासन र पारदर्शिताबाट काम गर्दै निति नियमका साथ अगाडी बढ्ने बताउनुभयो ।
सोसेक नेपालको २८औँ वार्षिकोत्सव,साधारण सभामा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ भने अधिवेसनबाट पुनः मञ्जु खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।









