दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
३ असोज,२०८२

दैलेखको गुराँस गाउँपालिकाले संविधान दिवस मनाएको छ । वि.संं २०७२ असोज ३ मा नेपालको संविधान जारी भएको दिनलाई सम्झना स्वरुप देशभर विभिन्न कार्यक्रम सहित संविधान दिवस मनाउने गरिएको छ । तर यतिबेला देश अस्थिर भइरहेको बेला छिटफुटरुपमा मात्र दिवस मनाइएका छन । केहि दिन अघि गत भाद्र २३ गते युवा पुस्ताको आन्दोलनसँगै देशमा अन्तरिम सरकार भइ अन्यौलको वातावरण भइरहेको बेला दैलेखमा सामान्य कार्यक्रम बाहेक दिवसमा हर्ष उल्लासको वातावरण छैन ।
गुराँस गाउँपालिकाले भने यतिबेलाको समय संग सान्दर्भिक संविधान दिवस विविध कार्यक्रम सहित गाउँपालिकाको कार्यालय रानिमत्ता गुराँसेमा सम्पन्न गरेको छ । गाउँपालिकाले संविधान दिवसको अवसर पारेर कार्यालय परिसर सरसफाई, संविधानको रक्षा वालवालिकाको सुरक्षा विषयक अन्तर माध्यामिक पालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता लगाएत युवा पुष्ता र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ ।
सरसफाई कार्यक्रममा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो भने वक्तृत्वकलामा गाउँपालिका भित्रका विभिन्न विद्यालयका १५ जना वालवालिकाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि वालवालिकाहरुले यतिबेलाको परिस्थितिमा वर्तमान संविधानको रक्षा गरेको खण्डमा मात्र भोलिका सक्षम नागरिक आजका वालवालिकाको सुरक्षा हुनेमा जोड दिएका छन ।
त्यसैगरि गाउँपालिकाले गाउँपालिका भित्रका सरोकारवाला राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु लगाएत जनप्रतिनिधिहरु र युवा पुष्तासंग समयसापेक्ष अन्तरक्रिया समेत गरेको छ । सो अवसरमा सहभागि युवा पुष्ताले यतिबेलाको राजनैतिक दलका प्रमुखहरुनै वर्तमान अवस्थाको सर्जक भएको आरोप लगाएका छन । उनिहरुले गाउँपालिकाले आगामी दिनहरुमा गर्नुपर्ने विभिन्न कार्यहरुको सुचि सहित ज्ञापन पत्र पेस गरेका छन ।
कार्यक्रमको अवसरमा बोल्दै गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले यतिबेलाको जल्दोबल्दो समस्यालाई लिएर युवा पुष्ता र वालवालिकालाई कसरी सकारात्मक सोचमा बदल्न सकिन्छ भन्ने मान्यताका साथ विभिन्न कार्यक्रम गर्दै संविधान दिवस मनाइएको जानकारी दिनुभयो ।









