दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण २३, २०८१
कर्णाली क्षेत्रका मानिसका पिँडा र व्यथाहरु वर्षौदेखि जरा गाडेर बसेका छन । रोग भोग अशिक्षा मात्र होइन गरिबिबाट पिछडिएका उनिहरुका वाध्यता र विवसता पनि उस्तै छन । त्यसो त राज्यले पनि कर्णालीलाई गर्ने व्यवहार अझैँ बदलिन सकिरहेको छैन । जहाँ शिक्षा स्वास्थ्य, खानेपानी, सडक लगाएत विकास पुर्वाधारले छुन समेत सकिरहेको छैन ।
त्यस्तै एक क्षेत्र हो दैलेखको दुल्लु नगरपालिका १ नम्बर क्षेत्रको तल्लो डुंगेश्वर क्षेत्र । सुर्खेत जुम्ला कर्णाली राजमार्गसँगै रहेको त्यस क्षेत्रका नागरिकहरु पनि यतिबेलासम्म राज्यको सेवासुविधाबाट बञ्चित मात्र छैनन् शुद्धपिउने पानिको अधिकारबाट समेत बञ्चित छन् । जहाँ एकातिर कर्णाली नदि छ भने अर्कोतिर लोहोरे खोला छ । दुई खोलाको संगमस्थलमा भएर पनि उनिहरु पानिमाथिको ओभानो झैँ छन । सदाबहार रुपमा खोलाको पानि पिउन वाध्य उनिहरुले यतिबेला भने केहि परिवर्तनको आभाष गर्न थालेका छन ।
दलित बस्तिको रुपमा रहको उक्त क्षेत्रमा दुल्लु नगरपालिकाको सहजिकरणमा सोसेक नेपालको हेल्वेटास, युनिसेफ र गल्स मेटर परियोजनाद्धारा वृहत खानेपानी योजना सम्पन्न भएको छ । मिश्रित दलित समुदायको रुपमा रहेको बस्ति लगाएत बादी बस्ति र बजार क्षेत्रमा एकघर एक धारा अभियानले सार्थकता पाएसँगै त्यहाँका नागरिकहरुले आफुहरुका दिन बदलिएको अनुभुति गर्न थालेका छन । उनिहरुले वर्षोैदेखिको सपना साकार भएको भन्दै अब भने भोक लागेपनि पानीको तिर्खा मेटिने भन्दै खुशी व्यक्त गरेका छन् ।
खानेपानीको धारामा पानि भर्दै ५५ वर्षिय जैसरा दमाई भन्नुहुन्छ “ हामी अहिले सम्म यहि खोलाको पानी खाएर बाँचेका छौँ , खोलामा भेल आवस या बाढि आवस धमिलो पानी खानुको विकल्प थिएन, अब भने सोसेक नेपालले धारा बनाई दियो पानि ल्याई दियो, खुशी छौँ, नखाए पनि खाएजस्तै भएको छ, जय होस हजुरहरुको ।”
त्यसो त त्यसै समुदायका रिता परियारको खुशी पनि उस्तै छ । उहाँ भन्नुहुन्छ “ हुन त हामी दुई खोलाको बिचमा छौँ तर पनि ओभानो छौ, पानी जति पनि छ, खान मिल्ने पानी समेत छैन, यहि पानि खाएर आजसम्म गुजारा चलेको थियो , अब भने हामीले घरमै धारा आयो, मिटर राखेर पानि खानेपानी पाइएको छ , खुशी छौ ।”
एता सोहि समुदायमा बस्ने ६५ वर्षिय सेतु शाहीको खुशी पनि कम छैन । उहाँ भन्नुहुन्छ “ म त भन्न पनि जान्दैन हजुर, सोसेक नेपाल भन्छन्, पानी आयो घरमै धारा जोडेका छौँ , कर्णाली बगे पनि हाम्रो तिर्खा मेटिएको नाई ।”
तल्लोडुंगेश्वर बजार क्षेत्रबाट करिब पाँच किलोमिटरको दुरीबाट सञ्चालित भुवाचौर तल्लोडुंगेश्वर खानेपानी योजना सम्पन्न भएसँगै त्यसले पुर्णता र सार्थकता पाएको हो ।
२ वटा ठुला टयांकी निर्माणसँगै एक लाइनबाट बजारक्षेत्र र अर्को लाइनबाट दलित बस्तिमा खानेपानीको आपुर्ति गरिएको छ । जसबाट १०९ घरमा एक घर एक धारा अभियान सम्पन्न हुनुका साथै स्वच्छ खानेपानीको आपुर्ति गरिएको सोसेक नेपाल हेल्वेटास परियोजनाले जनाएको छ । वृहत गुरुयोजना मार्फत दुल्लुको खानेपानी समस्या समाधानको प्रयास भइरहेको भन्दै डुंगेश्वर क्षेत्रका नागरिकको खोलाको खानेपानी खानुपर्ने वाध्यतालाई मध्यनजर गर्दै करिब ७० लाखको लागतमा योजना सम्पन्न भएको सोसेक नेपाल अन्तरगत हेल्वेटास नेपालका फिल्ड संयोजक महेन्द्र अधिकारीले बताउनुभयो ।
यसरी सोसेक नेपालद्धारा दुल्लु नगरपालिकासँगको सहकार्यमा गरिएको वृहत खानेपानी योजनाले यस क्षेत्रका दलित समुदाय र बजारबासीको जिवनस्तरमा सुधार मात्र गरेकोे छैन पानीमा पौडिँदै गरेको कागाकुल अवस्थालाई समेत परिवर्तन गरिदिएको छ । कागजका पानाहरुमा कार्यक्रम तय गर्नुभन्दा बास्तविकतलाई मध्यनजर गर्दै गरिएको यस्ता विकासनिर्माणले परिवर्तनको आभाष गर्न पाउनु ठुलो उपलव्धि समेत हो ।