दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर १८, २०८१
नेपालका लागि संयुक्त राज्य अमेरीकाका राजदुत डिन आर.थम्पसनले दैलेखको गुराँस गाउँपालिकाको भ्रमण गर्नुभएको छ । कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको गुराँस गाउँपालिकामा सञ्चालित यु एस ए आइ डी मार्फत सञ्चालित विभिन्न कार्यक्रमको प्रभावकारीता लगाएत आगामी दिनहरुमा गर्नुपर्ने थप सहकार्य र सहयोगका सम्बन्धमा भ्रमण फलदायि भएको गुराँस गाउँपालिकाले जनाएको छ ।
राजदुत थम्पसनको गुराँस आगमनको अवसरमा गाउँपालिकाले एक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रियाको क्रममा गाउँपालिकामा अमेरिकी जनताको सहयोमा सञ्चालित यु एस ए आई डि मार्फत समुदायको समुन्नती र पारिस्थितिक प्रणाली र स्वास्थ्यका लागि प्रकृति संरक्षण कार्यक्रम (जल जमिन) सन्दर्भमा वृहत छलफल गरिएको छ । जस अन्तरगत गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रमा यतिबेला उक्त कार्यक्रम मार्फत अल्लो प्रशोधन लगाएत अल्लो निकासी र अल्लोका विभिन्न सामाग्रीहरुको उत्पादन विक्रिवितरण गर्दै नागरिकहरुलाई आत्मनिर्भर बनाउनका लागि कार्यक्रमको प्रभावकारीताबारे राजदुत थम्पसनले चासोका साथ अन्तरक्रिया गर्नुभएको छ ।
अन्तरक्रियाको अवसरमा गुराँस गाउँपालिकाका स्थानियहरुले कार्यक्रमले पारेको प्रभावकारीताबारे खुशी व्यक्त गर्दै आगामी दिनहरुमा थप गर्नुपर्ने सहयोगका सन्दर्भमा राजदुत थम्पसनलाई अनुरोध गरेका छन भने राजदुत थम्पसनले त्यसलाई सकारात्मक रुपमा ग्रहण गर्नुभएको छ ।
राजदुत थम्पसनलाई गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी लगाएत जनप्रतिनिधिहरु र कर्मचारीहरुले स्वागत गर्नुका साथै गुराँस गाउँपालिकाको विभिन्न सास्कृतिक प्रस्तुतिहरु प्रर्दशन गरिएको थियो । सो अवसरमा बोल्दै गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले जल जमिन परियोजनाको सन्दर्भमा राजदुतको भ्रमण सकारात्मक भएको भन्दै भोलिका दिनहरुमा समेत थप लगानीको वातावरण बन्नेमा आशावादी भएको बताउनुभयो ।
गुराँस गाउँपालिका भ्रमणको क्रममा राजदुत थम्पसनलाई अध्यक्ष टोप बहादुर बिसीले प्रशंसा पत्र लगाएत मायाको चिनो समेत प्रदान गर्नुभएको छ । गुराँस गाउँपालिकाको न्यानो आतिथ्यता पाएका राजदुत थम्पसनले आफुलाई गर्व महशुस भएको भन्दै धन्यवाद ज्ञापन समेत गरेका छन ।