दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १५,२०८२

आज असार १५ नेपालमा विभिन्न कार्यक्रम सहित राष्ट्रिय धान दिवस वा रोपाँई दिवस मनाइएको छ । विभिन्न संघ संस्थाहरु लगाएत देशभरका स्थानिय तहहरुले विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय धान दिवस मनाए । वर्षभरी जीवन निर्वाहको मुख्य खाद्यान्न बालिको रुपमा धान रहेको सन्दर्भ उठान गर्दै मानो रोपेर मुरी उव्जाउने दिनको रुपमा आजका दिनलाई लिने गरिन्छ । तर असारको १५ भईसक्दा समेत कतिपय खेतहरु अझै पनि बाँझै छन । खेतियोग्य जमिनहरुमा किसानको आवश्यकता बमोजिम मल , बिउ, विभिन्न कृषि औजारहरु देखि सिँचाईको लागि सामान्य कुलो व्यवस्थापन हुन नसक्नुको परिणाम समयमै रोपाई भने अझै हुन सकिरहेको छैन ।
राष्ट्रिय धान दिवसको अवसरमा दैलेखका विभिन्न स्थानि तहहरु राष्ट्रिय धान दिवस एवं रोपाई दिवसका रुपमा असार १५ लाई मनाएका छन । सो अवसरमा दैलेखको पादुका क्षेत्र लगाएत गडाज्युला क्षेत्रमा समेत धान दिवस मनाइएको छ । दैलेखको भैरवी गाउँपालिकाले गडाज्युला क्षेत्रमा किसानहरुसँगै किसानहरुका खेतमा गई किसानहरुलाई सम्मान गर्दै राष्ट्रिय धान दिवस दिवसा या रोपाई दिवस मनाएको छ । विगत वर्षहरुदेखी निरन्त कुनै न कुनै क्षेत्रमा किसानहरु संगै धान दिवस या रोपाँई दिवस मनाउदै आएको भैरवी गाउँपालिकाले यतिबेला वडा नं. ३ को दैलेखकै ठुलो धान उत्पादनको रुपमा परिचित गडाज्युला क्षेत्रमा धान दिवस मनाउँदा किसानहरु हर्षित भएका छन । उत्कृष्ट किसान समुहलाई गाउँपालिका कृषि शाखा मार्फत हाते ट्याक्टर लगाएत अन्य विविध सहयोग सहित उल्ल्लासमय वातावरणमा धान दिवस मनाएको छ ।
राष्ट्रिय धान दिवस एवं रोपाई दिवसको अवसरमा आयोजित रोपाई कार्यक्रमको अवसरमा बोल्दै भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिकाले विगत देखी निरन्तर रुपमा धान दिवस मनाउने गरेको सन्दर्भ उठान गर्दै किसानहरुका लागि गाउँपालिकाले विभिन्न सहयोग गर्दै कृषि उत्पादन तर्फ विशेष जोड दिएको बताउनुभयो ।
यसरी आजको दिनलाई कृषि क्रान्तिको नाममा बन्द कोठामा रातो कार्पेटमा बसेर गमलामा धान रोप्नेहरुका लागि एक दिन भएपनि किसानसँगै उनिहरुको बारीमा रमाउर्दै उनिहरुलाई उत्साहित गर्न सक्नु नै ठुलो उपलव्धी हो ।
