
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
६ जेठ,२०८२
दैलेखको दुल्लु नगरपालिकामा सञ्चालित २ दिने खानेपानी सुचारुपना सम्मेलन सम्पन्न भएको छ । “दिगोपनाका लागि जवाफदेहिता,सुचारुपनाको लागि साझेदारी” भन्ने मुल नारा तय गर्दै खानेपानी तथा सरसफाई योजनाका सरोकारवालाहरुको जवाफदेहिताको लागी उक्त सुचारुपना सम्मेलन सञ्चालन गरिएको हो । दुल्लु नगरपालिकाको १३ वटै वडाभित्रका विभिन्न खानेपानी योजनाका सञ्चालक प्रतिनिधिहरु सहित वडाका जनप्रतिनिधिहरु र खानेपानी योजनाका सरोकारवालाहरुको सहभागितामा वृहत सम्मेलन सम्पन्न भएको हो ।
सोसेक नेपालको सहजिकरणमा हेल्भेटास नेपालको आर्थिक र प्राविधिक सहयोगमा दुल्लु नगरपालिका र दुल्लु खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा सञ्चालित उक्त सम्मेलनले वृहत दुल्लु खानेपानी गुरुयोजना तथा रणनिति समेत प्रस्तुत गरिएको छ । दुल्लु नगरपालिका भित्र यतिबेला करिब ६५ वटा खानेपानी योजनाहरु सञ्चालित छन भने ति योजनाहरुभित्र करिब २८०० उपभोक्ताहरु लाभान्वित रहेका छन ।
दुल्लु नगरपालिकाको खानेपानी व्यवस्थापनको जिम्मा लिएको दुल्लु खानेपानी व्यवस्थापन बोर्ड मार्फत सम्पुर्ण खानेपानी क्षेत्रको बिस्तार लगाएत मर्मत र व्यवस्थापन भईरहेको सन्दर्भमा उपभोक्ताहरुलाई थप जिम्मेवार बनाउदै नयाँ योजनाहरु निर्माण भन्दा विगतमा सञ्चालित योजनाहरुलाई नियमित सुचारुपनाको लागि उक्त सम्मेलन फलदायि भएको दुल्लु नगरपालिकाले जनाएको छ । सम्मेलनको अवसरमा खानेपानी योजनाहरुको सन्दर्भमा सवालजवाफ,प्रश्नोत्तर लगाएत प्यानल छलफल समेत गरिएको छ भने वडागत रुपमा खानेपानी योजनाहरुको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको छ ।
उक्त खानेपानी सुचारुपना सम्मेलनको प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेश खानेपानी उर्जा तथा जलश्रोत मन्त्रि माननिय विजया बुढा रहनुभएको थियो । सम्मेलनको अवसरमा बोल्दै मन्त्री बुढाले समग्र कर्णाली प्रदेश सरकारले हरेक नागरिकहरुको घरघरमा खानेपानी पुगाउने उद्धेश्य र लक्ष्यका साथ एकघर एक धाराको अभियान सञ्चालन गरेको भएपनि तिन तहका सरकारको एकअर्काप्रति सहमति र सहकार्य हुन नसक्दा खानेपानी क्षेत्रका समस्या समाधान गर्न चुनौतिको विषय बनेको बताउनुभयो ।
सम्मेलनको समापनको अवसरमा बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले दुल्लु क्षेत्र विगत देखी नै खानेपानी समस्या रहेको क्षेत्रको रुपमा रहेको सन्दर्भ उठान गर्दै नगरपालिका स्तरमा धेरै योजनाहरु निर्माण गरिएको भएपनि दीर्घकालिन हुन नसकेको सन्दर्भमा दुल्लु क्षेत्रको खानेपानी योजनाहरुको सुचारुपनाको लागी गरिएको सम्मेलन फलदायि भएको बताउनुभयो ।
यतिबेला दुल्लु नगरपालिकाको खानेपानी योजनाभित्रका उपभोक्ताहरुको समस्या समाधानकालागी जानकारी तथा गुनासो सुनुवाईका लागि त्तच् सहितको हेल्लो धारा अभियान समेत सञ्चालनमा । खानेपानी योजनाहरुको दीर्घकालिन सञ्चालनको लागि गरिएको उक्त सुचारुपना सम्मेलनको अबसरमा नियमित खानेपानी सञ्चालन गर्ने उत्कृष्ट योजनाहरुलाई सम्मान र पुरस्कार प्रदान गर्नुका साथै ७ बुँदे दुल्लु खानेपानी घोषणापत्र समेत जारी गरिएको छ ।