दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार २०,२०८२

यो हो दैलेख सदरमुकाम नौमुले सडक । दैलेख सदरमुकाम देखी नौमुले गाउँपालिका हुँदै जाजरकोट जुनी सडक अन्तरगत उक्त क्षेत्रको सडकको लागि सम्झौताको ४ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेन । फलस्वरुप स्थानियबासीले वर्षौदेखी हिँउदको धुलो र वर्षाको हिलोबाट सास्ती खेप्नु परिरहेको छ ।
वि.सं २०७८ श्रावण २७ मा बिरुवा सिदान्त श्रिंगेश्वर जेभी काठमाण्डौले सम्झौता गरेको सडकको सम्पुर्ण जिम्मेवारी गत वैशाख २५ भित्र सम्पन्न हुनुपर्ने हो । कर्णाली प्रदेश सरकारको विनियोजित बजेट ३६ करोड ३२ लाख ९८ हजारको लागत स्टमेट अनुसार ठेक्का भएको र जसमा बिरुवा सिदान्त श्रिंगेश्वर जेभी काठमाण्डौले १९ करोड ९४ लाख १७ हजारमा ठेक्का सम्झौता गरेपनि यतिबेला सम्म सडकको सामान्य शिलान्यास बाहेक कुनैपनि काम हुन सकिरहेको छैन । निर्माणको जिम्मेवारी लिएको बिरुवा सिदान्त श्रिंगेश्वर जेभी काठमाण्डौका मुख्य ठेकेदार प्रविण शाही ठकुरीलाई दैलेखका नागरिकले चिन्न समेत पाएका छैनन् । उनका प्रतिनिधीहरु बेलाबेला आउँछन अनि सामान्य एक दुई दिन देखासिकि गरेर फर्किन्छन ।
सम्झौताको मिति देखी आजसम्ममस्त निन्द्रामा रहेको निर्माण कम्पनि यतिबेला सम्झौताको मिति सकिएको करिब ३ महिना पश्चात सडकमा आएर रमिता देखाउन थालेको छ । दैलेख सदरमुकाम देखी नौमुले गाउँपालिका सिमाना तामेखोला सम्मको साढे सात किलोमिटर सडक भित्र जाली नाली सहित स्टक्टरको काम देखी कालोपत्रेको जिम्मेवारी लिएको बिरुवा सिदान्त श्रिंगेश्वर जेभी काठमाण्डौले यतिबेलासम्म करिब साढे ५ करोड रकम लिएर पनि प्रगति शुन्य हुँदा सडक काम नलाग्ने अवस्थामा पुगेको छ।
सडकमा यतिबेला सुरु गरिएको आरसिसीको काम लथालिंग छ भने नाली जाली समेत भताभुंग अवस्थामा छ । अर्कोतिर सडकमा अव्यवस्थित पानीको कारण सडक खोलामा परिणत भएको छ भने पुरानो सडकमा जति यात्रा सामान्य थियो यतिबेला जथाभावी मेसिन प्रयोग गरिदा सडक हिलाम्य भएको छ । जसले गर्दा ७ किलोमिटरको सडक पार गर्न २ देखी ३ दिनसम्म लाग्ने गरेको छ । यात्रुवाहक साधनहरु हिलोमै फस्ने र घण्टौसम्म बस्नुपर्ने वाध्यताबाट आजित छन
त्यसो त नौमुले गाउँपालिका प्रवेशद्धारको रुपमा रहेको उक्त सडकको दुरावस्थाले मुख्य गरेर नौमुलेबासीहरु पिँडामा छन । उक्त सडकको निर्माणको सन्दर्भमा विगत देखी नौमुले गाउँपालिकाले आवाज उठाउँदै आएको भएपनि कुनै सुनुवाई हुन सकिरहेको छैन । ठेक्का क्षेत्रभित्र पर्ने नारायण नगरपालिका क्षेत्रभित्र पर्ने सडक भएकाले गाउँपालिकाले केहि गर्न नसक्ने र बाटो छिटो बन्नुपर्नेमा आफुहरुले जोड दिएको नौमुले गाउँपालिका अध्यक्ष छबिराम सुवेदीको भनाई रहेको छ ।
उक्त सडकको जिम्मेवारी हेरफेर गर्ने कर्णाली प्रदेश सरकारको एक निकायको रुपमा रहेको पुर्वाधार विकास कार्यालय दैलेखले समेत सडकको विषयलाई विगतदेखी चासोको रुपमा लिईरहेको बताएको छ । ठेकेदारसँग समयसमयमा कुरा गर्नुका साथै बेवास्ता र ढिलासुस्तिका सन्दर्भमा प्रमुख जिल्ला अधिकारी लगाएत जिम्मेवार निकायमा समेत कुरा गर्दा समेत ठेकेदारले ध्यान नदिनु दुःखको कुरा भएको कार्यालयले जनाएको छ । ठेकेदारको लापरबाहि र अटेरका कारण तोकिएको ४ वर्षको समय समेत गुज्रिनुका साथै सडक निर्माणको लागि कार्यालयले थप केहि सोच्न समेत वाध्य बनाएको पुर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रविण कार्कीको धारणा रहेको छ ।
यसरी उक्त सडकमा तोकिएको समयमा समेत सामान्य प्रगति हुन नसक्नु र ४ वर्षसम्म कानमा तेल हालेर निदाएको बिरुवा सिदान्त श्रिंगेश्वर जेभी काठमाण्डौका ठेकेदारले यतिबेला वर्षा सुरुहुँदा मनपरि जथाभावी सडकमा मेसिन चलाउँदा झन दुःख थपिएको छ । जसले कानुनी राज्यलाई चुनौति थपिनुका साथै पैँसाको भरमा मनपरि गर्न समेत छुट भएको प्रष्ट देख्न सकिन्छ ।
