दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१ फाल्गुन,२०८१

दैलेखको दुल्लु नगरपालिकामा आर्थिक रुपमा पिछडिएका बादी समुदायलाई बाख्रा वितरण गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग, सोसेक नेपालको साझेदारीमा सञ्चालन भइरहेको गल्स म्याटर परियोजना अन्तर्गत दुल्लु नगरपालिका–१, तल्लो डुङ्गेश्वर नमुना बस्तीका आर्थिक रूपमा पछाडि परेका बादी समुदायका २० परिवारलाई ४० वटा बाख्रा वितरण गरिएको छ।
बाख्रा वितरण कार्यक्रममा दुल्लु नगरपालिका नगर प्रमुख भरत प्रसाद रिजालले बाख्रा वितरण कार्यक्रमले स्थानीय स्तरमा कृषिमा आधारित आयआर्जनका अवसरहरू विस्तार गर्न तथा पिछडिएका समुदायहरूको आर्थिक स्थिति सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा सहभागी किसानहरूलाई बाख्रा पालन सम्बन्धी आवश्यक जानकारी प्रदान गरिनुका साथै बाख्राको बीमा गराउने व्यवस्था पनि मिलाइएको छ । गल्स म्याटर परियोजना मार्फत महिलाहरूको सशक्तिकरण र परिवारको आयवृद्धिमा समेत टेवा पुग्ने लक्ष्य राखिएको छ। यस परियोजनाले कृषकहरूलाई आत्मनिर्भर बनाउने तथा दिगो कृषि प्रणालीमा जोड दिने उद्देश्य राखेको सोसेक नेपालमा कार्यरत हिक्मेन्द् माझीले बताउनुभयो ।
