दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज ११, २०८१
कर्णाली प्रदेशको देशका अन्य प्रदेशहरु भन्दा विकट छ तर थुप्रै संभावनाहरु बोकेको प्रदेशको रुपमा रहेको छ । कर्णालीका १० वटा जिल्लाहरु कुनै न कुनै महत्वका विषयवस्तुहरुसँग जोडिएका छन । विभिन्न पर्यटकिय क्षेत्रहरु देखि धार्मिक स्थलको संगमस्थलको रुपमा रहेको कर्णाली प्रदेश आफैमा शुन्दर छ । राराताल, से फोक्सुन्डो ताल, कुभिन्डे दह देखि पञ्चकोशी, कनका शुन्दरी, त्रिपुरासुन्दरी जस्ता धार्मिकस्थलहरु समेत कर्णाली प्रदेशका गहना हुन । तर यस्ता पर्यटकिय र धार्मिक क्षेत्रको विकास संरक्षण, प्रर्वद्धन र प्रचारप्रसारको अभावमा सुनको कचौरा लिएर सुनकै सिरानीमा मस्त निदाएको छ कर्णाली ।
यस्तै एक संभावना बोकेको पर्यटकिय क्षेत्र हो डोल्पा जिल्लाको से फोक्सुन्डो ताल । समुन्द्र सतहदेखी ३,६११.५ मिटरको उचाईमा अवस्थित उक्त ताल करिब १३६.२० मिटर गहिरो ताल करिब ४.९४ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ । डोल्पा जिल्लाको एक मुख्य पर्यटकिय क्षेत्रको रुपमा रहेको उक्त तालको नामबाट यतिबेलाको से फोक्सुन्डो गाउँपालिकाको नामाकरण गरिएको छ भने एउटा राष्ट्रिय निकुञ्ज समेत रहेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको सदरमुकामबाट डोल्पा सदरमुकाम पुग्नका लागि करिब १५ घण्टाको यातायातको साधनबाट पुग्नुपर्छ भने त्यसपछि पैदल मार्गबाट करिब २ दिनमा पुगिने उक्त तालमा यतिबेलासम्म कुनै व्यवस्थापनका कामहरु हुन सकिरहेका छैनन् । हिउँदमा मुस्किलले ६ महिना डोल्पा सदरमुकामसम्म अति महंगो सवारी साधनमा पुगिने भएपनि वर्षायाममा भने पैदलयात्रा गर्दै बल्लतल्ल पुगिन्छ ।
भेरी नदिको उद्धगम स्थलको रुपमा रहेको डोल्पाको सदरमुकाम दुनै तथा सुलिघाट बाट २ दिनको पैदलयात्रा पछि पुगिने से फोक्सुन्डो ताल जति मनमोकह छ पुग्नका लागि भने कठिन यात्राको विकल्प छैन । स्वदेश र विदेशका विभिन्न पर्यटकहरु से फोक्सुन्डो पुग्नका लागि यात्रा तय गर्छन तर कठिन भिरको बाटो, ठुलाठुला खोलामाथिका जिर्ण पुलहरु देखेरै हैरान हुन्छन । से फोक्सुन्डो तालमा पुग्नका लागि सडकको पहुँच नभएपनि पैदल मार्गको समेत व्यवस्थापन हुन सकेको छैन, अर्कोतर्फ भेरी नदि र सहायक नदिमाथी पुल समेत निर्माण हुन सकेका छैनन् । जिर्ण काठका पुलहरु भाँचिएर कतिको ज्यान समेत गैसकेको छ भने कतिपयले हत्केलामा ज्यान राखेरै यात्रा गर्नुपर्ने आवश्यकता छ भने सोहि भिरको बाटोमा त्यस क्षेत्रका मानिसहरुको जीवननिर्वाहको बस्तुहरु बोकेर घोडा तथा खच्चर समेत हिड्नुपर्ने वाध्यताका कारण उक्त मार्ग झन जोखिमको अवस्थामा छ ।
अर्कोतर्फ ताल क्षेत्रमा पुग्नका लागि उचित बासस्थानको समेत अभाव छ । दुनैबाट अगाडी बढेपछि छेप्का, तार्पिजा, रेचि लगाएत ताल क्षेत्रमा बनेका सिमित होटेलहरुले पर्यटकहरुलाई थेग्न सकिरहेको छैन । होटेल व्यावसायिहरुले मनपरि रुपमा महंगो कोठा र खानाको पैसाँ लिएपछि त्यहाँ पुगेका पर्यटकहरु खिन्न मन गरेर फर्किने गरेका छन । से फोक्सुन्डो ताल पुग्ने आन्तरिक तथा वाह्य पर्यटकहरुले ताल निकै शुन्दर र आकर्षक रहेको तर राज्य स्तरबाट ट्रेकिंग मार्गमा घामपानीको ओत लाग्ने व्यवस्थापनका साथै घोडा , खच्चर हिड्ने घोडेटो बाटो र मानिसहरुका लागि सहज बाटो निर्माण हुनुपर्नेमा जोड दिएका छन
राज्यले यस प्रति कुनै ध्यान दिएको छैन । कमाउन र रमाउन खोज्नेहरुको आन्तरिक मनमुटावका कारण से फोक्सुन्डो ताल पुग्नेहरु रमाएर फकिएको देख्न सकिदैन । ताल पुग्नुपर्ने समय वर्षायाम हो तर जिर्ण काठका पुलहरुमा यात्रा गर्न जोखिम छ । राज्यले बलियो र भरपर्दो सामान्य पुलको व्यवस्थापन समेत गर्न नसकेको अवस्थामा डोल्पा जिल्ला प्रशासनले उक्त ताल क्षेत्र र त्यहाँ पुग्ने बाटोको अवलोकन गरेको छ । अबलोकन पश्चात डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले स्थानियबासीहरुले निर्माण गरेका जिर्ण र पुराना काठका पुलहरुलाई पुर्ननिर्माण गर्ने र आवतजावतलाई सामान्य बनाउने बताउनुभयो ।
यसरी प्रकृतिको अनुपम उपहार से फोक्सुन्डो ताललाई राज्यले पहिचान गर्न सकिरहेको छैन । राज्यको माथिल्लो निकाय देखि प्रदेश र स्थानिय स्तरबाट समेत ताल क्षेत्र व्यवस्थापन गर्न सकिएको छैन भने त्यहाँ पुग्नका लागि सामान्य पैदल मार्गको समेत निर्माण हुन नसक्दा सुनको सिरानीमा निदाएको कर्णाली प्रदेशलाई कसरी व्युझाउन सकिन्छ ? चिन्ता र चासोको विषयबस्तु बन्न पुगेको छ ।