दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
कात्तिक ३०, २०८१
आगामी मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लू नगरपालिका–१३ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यतिबेला देशका विभिन्न ४४ रिक्त पदहरुका लागि स्थानिय तहको उपनिर्वाचन हुन गईरहेको छ । जस अन्तरगत दैलेखमा महाबु गाँउपालिकामा अध्यक्ष तथा दुल्लु नगरपालिका १३ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुन गइरहेको छ ।
महाबुमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे र दुल्लू नगरपालिका–१३ का निर्वाचन अधिकृत दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्दबहादुर मल्लले औपचारिक कार्यक्रम गरी कार्यालय स्थापना भएको जानकारीसंगै निर्वाचन कार्यक्रमहरु प्रकाशित गर्नुभएको छ ।
उपनिर्वाचनको कार्यलाई स्वच्छ, मर्यादित र शान्त बनाउन निर्वाचन आचार सहिंताको पालना, राजनीतिक दल र उम्मेदवारले गर्ने चुनावी प्रचारका कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने, शान्ति–सुरक्षा सवाल बारे सबै क्षेत्रको सहयोग बारे प्रकाश पार्नुभएको थियो ।
निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानमा कार्यालय स्थापना गर्ने, मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने, ३ गते उम्मेदवार विरुद्ध दावी बिरोध, ४ गते दावी विरोधको जाँचबुच गरी निर्णय दिने, ५ गते उम्मेदवारी फिर्ता लिन पाउने र ५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह दिने निर्वाचन कार्यतालि रहेको छ ।
आयोगले देशभर उपचिर्वाचन हुने ४४ पदका लागि मंसिर १३ गते राति १२ बजेपछि चुनावी प्रचार गर्न नपाइने मौन समय सुरु हुने जनाएको छ । मंसिर १६ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइने जनाइएको छ । निर्वाचन आयोगले निर्वाचन हुने स्थानमै निर्वाचन अधिकृतको कार्यालय रहने जनाएको छ ।
उपनिर्वाचन सुव्यवस्थित बनाउन राजनीतिक दल, सरोकारवाला पक्ष र समुदायसंग छलफल गर्नुसंगै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे र दुल्लू नगरपालिका–१३ का निर्वाचन अधिकृत दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्दबहादुर मल्लको टोलीले मतदान स्थलको अवस्था बारे निरीक्षण गरेको छ ।