दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
२ माघ २०८१
दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ निवासी कानुन अध्ययन समाज नेपालका सदस्य अधिवक्ता श्री खगेन्द्र दाहालकी श्रीमती स्वर्गिय मधुविना गौतम दाहालको सम्झनामा आज एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । दाहाल पत्नी मधुविनाको क्यान्सरका कारण गत २४ गते भक्तपुर स्थित क्यान्सर अस्पतालमा ३५ वर्षको अल्पआयुमै निधन भएको थियो । कानुनमा स्नात्तकोत्तर अध्ययन गर्दै शिक्षण पेसामा संलग्न मधुविनाको करिब ६ वर्ष अघि अधिवक्ता दाहालसँग सामाजिक परम्परा अनुसार प्रेम विवाह भएको थियो ।
दुल्लु नगरपालिका १२ गौरी दह स्थित उहाँको निवासमा नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समिति लगाएत दुुल्लु नगर समितिले संयुक्तरुपमा शोक कार्यक्रम र श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै मृतक मधुविना गौतम दाहालको तस्बिरमा माल्र्यापण समेत गरिएको छ । शोक कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टी दैलेखका अध्यक्ष जगत वलीले यतिबेलाको पुजिवादी राज्य व्यवस्थामा जनताको स्वास्थ्य प्रति ख्याल नगरिदा मधुविना जस्ता हजारौँ नागरिकले अकालमा मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले विकसित कम्युनिष्ट मुलुकहरुमा जनताको स्वास्थ्य प्रति सरकार जिम्मेवार हुनेगरेको भन्दै नेपालमा नामको कम्युनिष्ट सरकार भएपनि कहिल्यै जनताको नैसर्गिक अधिकार प्रति जिम्मेवार हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जिल्ला स्थित विभिन्न संगठनका नेता कार्यकर्ताहरुको उपस्थितिरहेको थियो ।