दिपेन्द्र कार्की बस्ताकोटी ,दैलेख
२३ पौष २०८१
दैलेखको दुल्लु नगरपालिकामा दुल्लु नगर खेलकुद विकास समिति गठन गरिएको छ । दुल्लु नगरपालिकाको समग्र खेलकुद क्षेत्रलाई अगाडी बढाउनका लागि उक्त समिति गठन गरिएको हो । विगत लामो समय देखि रिक्त रहेको खेलकुद विकास समिति नहुँदा दुल्लु नगरपालिका क्षेत्रमा कुनैपनि खेलकुदका गतिविधिहरु अगाडी बढ्न नसक्नुका साथै विद्यालयस्तरको राष्ट्रपति रनिंग सिल्ड समेत हुन सकेको छैन ।
खेलकुद विधान अनुसार तोकिएको मापदण्डमा आधारित रहेर उक्त समिति गठन गरिएको दुल्लु नगरपालिकाले जनाएको छ ।
दुल्लु नगर खेलकुद विकास समितिको नवगठिन समितिको संयोजकमा शिक्षाविद तथा समाजसेवी उपेन्द्र कुमार शाह रहनुभएको छ भने अन्य पदाधिकारीहरुमा दिपेन्द्र कुमार पुरी, तेज बहादुर शाही, गणेश कुमार थापा, ललित प्रसाद पोखरेल,योगेन्द्र विक्रम शाह, लोकेन्द्र शाही, सुर्य विक, कमला रावत लगाएत शिक्षा शाखाबाट सदस्य सचिव थानेश्वर जैसी रहनुभएको छ ।
नवगठित उक्त समितिलाई आज एक कार्यक्रमका विच मनोनयन पत्र प्रदान गर्दै स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख भरत प्रसाद रिजालले दुल्लु क्षेत्रको समग्र खेलकुदको विकासमा सबैको जिम्मेवारी महत्वपुर्ण हुने भन्दै खेलकुदका हरेक कार्यक्रम समितिले जिम्मा लिने र त्यसको व्यवस्थापनमा नगरपालिका सदैव तयार रहेको बताउनुभयो ।