असार २६ २०८२
दुल्लु दैलेख
दैलेखको दुल्लु नगरपालिकामा गठित सेवा निवृत्त शिक्षक समितिले दुल्लुको शिक्षा सुधारका लागि चिन्ता र चासो देखाएको छ । भर्खरै मात्र प्रकाशित एसइईको नतिमामा सन्तोषजनक उपलव्धि नदेखिएपछि सेवा निवृत्त शिक्षकहरुले त्यसको लागि के गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ “शिक्षा सुधारमा सेवा निवृत्त शिक्षकहरुको भुमिका” विषयक अन्तरक्रिया दुल्लुमा सम्पन्न भएको छ । दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजालको उपस्थितिमा दुल्लुमा रहेका सेवा निवृत्त शिक्षकहरुले आ आफ्नो धारणा प्रस्तुत गरेका छन । दुल्लु स्थित इलाइट होटेको सभाहलमा सम्पन्न उक्त अन्तरक्रियाको अवसरमा बोल्दै नगरप्रमुख भरत प्रसाद रिजालले यतिबेला भौतिक पुर्वाधारतर्फ विद्यालयहरु बलियो भएपनि गुणत्मक रुपमा दुःखलाग्दो अवस्थामा पुगेको सन्दर्भ उठान गर्दै सेवा निवृत्त शिक्षकहरुले त्यस प्रति देखाएको चासो स्वागत योग्य भएको बताउनुभएको छ । उहाँले शिक्षाको गुणस्तर वृद्धिको लागि नगरपालिकाले धेरै लगानी गर्दै आएको भएपनि त्यो बालुवाको पानी भएको र अबका दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा सबैको साथ सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा दुल्लु नगरपालिकाका उपप्रमुख बिना कार्की , शिक्षा शाखा प्रमुख विकासजंग शाही लगाएत दुल्लु क्षेत्रका सेवा निवृत्त शिक्षकहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको अवसरमा दुल्लुमा शिक्षाको क्षेत्रमा अतुलनिय योगदान गर्दै सेवा निवृत्त हुनुभएका केहि शिक्षकहरुलाई विशेष सम्मान समेत गरिएको छ । कार्यक्रम सेवा निवृत्त शिक्षक भागवत हमालले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम सेवा निवृत्त शिक्षक समितिका अध्यक्ष शक्ति बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

