दिपेन्द्र कार्की बस्तकोटी दैलेख
२४ असार २०८२

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा संचालित कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) को ठाटीकाँध गाउँपालिकामा पालिका स्तरीय कार्यक्रम समापन गोष्ठीको आयोजना गरी औपचारिक रुपमा २०८२ असार २२ गते समापन भएको घोषणा गरिएको छ । ठाटीकाँध गाउँपालिका र कृषि क्षेत्र विकास कार्यक्रम बीच मिति २०७७/०८/१६ भएको दुइपक्षीय समझदारी (MOU) पश्चात कार्यक्रमद्वारा ठाटीकाँध २१ वटा कृषक समुह/सहकारीमा आवद्ध ५७७ घरधुरीमा खसीबोका र बेमौसमी तरकारी मुल्य शृंखलामा सह-लगानी गरिएको थियो ।उक्त समुह सहकारीहरुमा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा संचालन गरिएको थियो भने २ वटा समूहमा सिंचाई पोखरी निर्माण गरिएको थियो भने एउटा समुहका २३ घरधुरीलाई महिलाहरुको कार्यबोझ न्यूनीकरणका लागि आवश्यक औजार उपकरणहरु एवं मेसिनरी सहयोग गरिएको थियो । यसैगरी पालिकाको कृषि र पशु सेवा शाखाहरुको सेवा प्रवाह क्षमता अभिवृद्धिका लागि आवश्यक सामग्री र प्राविधिक क्षमता विकासमा सहयोग गरिएको थियो । कार्यक्रमद्वारा श्री ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको क्षमता विकास गरिएसंगै उक्त सहकारी मार्फत १४ वटा उपसमुहहरु कार्यक्रममा जोडिएका थिए ।
यस कार्यक्रमबाट विभिन्न सहायता कोष मार्फत २ करोड ५० लाख लगानी भएको र समुदायबाट झन्डै २ करोड गरी जम्मा ४ करोड ५० लाख बराबरको काम सम्पन्न भएको कार्यक्रममा जानकारी गराएको छ ।
उक्त कार्यक्रम समापन कार्यशाला गोष्ठीको अध्यक्षता कृषि क्षेत्र विकास कार्यक्रमका ग्रामिण वित्त विज्ञ तर्कराज जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष देवीराम बडुवाल रहनु भएको थियो । कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका संस्थागत विकास विज्ञ मदनलाल कार्कीले कार्यक्रमको हालसम्मको प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायत बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि र समूह सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
