दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण १५, २०८१
अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस आज दैलेखमा मनाइएको छ । “सामाजिक न्याय र आर्थिक शसक्तिकरण मानव बेचविखनको निर्मुलन” भन्ने मुल नारा सहित मनाइएको उक्त दिवस अन्तरगत प्रभातफेरीको आयोजना समेत गरिएको छ । सोसेक नेपालको आयोजनामा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, नारायण नगरपालिका दैलेखको समेत सहजिकरण रहेको उक्त प्रभातफेरीमा जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
जिल्ला सदरमुकामको बजारक्षेत्रमा प्रभातफेरी गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी देवकोटा चोकमा कोणसभाको आयोजना समेत गरिएको छ । कोणसभालाई संवोधन गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल दाहालले मानव वेचविखन उन्मुलन सजिलो नभएको भन्दै विज्ञान र प्रविधिको समयमा विभिन्न प्रलोभनमा परेर बुझेका हरुनै जघन्य अपराधमा संलग्न भएकोमा जोड दिनुभयो ।
यसैगरि कार्यक्रमको अवसरमा बोल्दै सोसेक नेपालका अध्यक्ष मञ्जु खड्काले मानव वेचविखनको स्वरुप जटिल र शुक्ष्म भएकाले सबै संघ संस्थाले सक्रिय भएर लागेकोे खण्डमा उपलव्धी हुने भन्दै सबैको हातेमालो आवश्यकता भएको बताउनुभयो ।