दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ६,२०८१
योनिक तथा लैंगिक अल्पसँख्यकहरुको मानव अधिकार अवस्थाको सवालमा सुर्खेतमा वृहत अन्तरक्रिया गरिएको छ । सेभ द चिल्ड्रेन र डिसिएको आर्थिक सहयोगमा सोसेक नेपाल द्धारा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले योनिक तथा लैंगिक अल्पसंख्यकहरुको वर्तमान अवस्था र उनिहरुले मानव अधिकारका क्षेत्रमा भोग्नुपरेका समस्याहरुका बारेमा आवाज उठाएका छन । कर्णाली प्रदेश स्थित विभिन्न सरकारी कार्यालय र संघसंस्थका प्रमुखहरु लगाएत प्रहरी प्रशासन लगाएत मानव अधिकारका क्षेत्रमा आवाज उठाउने व्यक्तीहरुले अन्तरक्रियामा सहभागिता जनाएका छन ।
तेस्रो लिंगिका रुपमा चिनिने योनिक तथा लैगिंक अल्पसंख्यकहरुले समाजमा मात्र नभएर आफ्नो घरपरिवारबाटै तिरस्कृत हुदैँ समाजमा अपहेलना खेप्दै छिछि र दुरदुरको अवस्था भोग्नुपरेको तितो यर्थातलाई अन्तरक्रिया कार्यक्रमको अवसरमा उठान गरिएको छ । अन्य नागरिक सरह उनिहरुले पनि समाजमा बाँच्न पाउनुपर्ने र उनिहरु पनि समाजका सक्षम नागरिकको रुपमा स्थापित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उनिहरुले राज्यस्तरबाट समेत उचित अधिकार प्राप्त नगरेको सहभागिहरुले बताएका छन ।
हरेक व्यवहारमा महिला या पुरुष मात्र हुने भएको र कतै पनि अन्य भनेर प्रचलनमा समेत नआएको भन्दै योनिक तथा लैंगिक अल्पसँख्यकहरुले कानुनमा समेत प्रष्टरुपमा आफुहरुका सन्दर्भमा पहिचान हुनुपर्नेमा जोड दिएका छन । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कर्णाली प्रदेश उच्च अदालतका कायम मुकायम मुख्य न्यायधिस कृष्णलाल भट्टराईले राज्यले सबैलाई बराबर अधिकार दिएको भन्दै योनिक तथा अल्पसंख्यक नागरिकहरुले आफ्नो अधिकार लिनका लागि आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
यसै गरि कार्यक्रमको अवसरमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश प्रमुख रमेश कुमार थापाले अहिलेको वर्तमान अवस्थामा योनिक तथा लैंगिक अल्पसँख्यकहरुले सामान्य कुरामा समेत वाधा खेप्दै समस्यामा परेको भन्दै त्यसमा मानव अधिकार आयोगले पुर्ण भुमिका खेल्नेमा दुइमत नभएकोमा जोड दिनुभयो ।
अन्तरक्रिया कार्यक्रमको अवसरमा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले योनिक तथा लैंगिक अल्पसँख्यकहरुको मानव अधिकारको रक्षा गर्दै उनिहरुको अवस्थाको बारेमा जानकारी दिनका लागि मात्र नभई उनिहरुलाई राज्यले समेत पहिचान गरोस भन्नका लागि गरिएको अन्तरक्रिया फलदायि भएको बताउनुभयो ।
कर्णाली प्रदेशमा यतिबेला योनिक तथा लैंगिक अल्पसँख्यक व्यक्तीहरु विस्तारै पहिचान खोज्दै समाजको मुलधारमा आउने क्रम बढ्को छ । यतिबेलासम्म करिब ३० भन्दा बढि योनिक तथा लैंगिक अल्पसँख्यक व्यक्तीहरु एकतावद्ध हुर्दै अघि बढेका छन ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण योनिक तथा लैगिंक अल्पसख्यकको अगुवा भुमिका श्रेष्ठले गर्नुभएको थियो ।