दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ८,२०८१
दैलेखको भैरवी गाउँपालिकामा सरुवा तथा मौसमी रोगको स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ । सोसेक नेपालको आयोजना र एईआइएन संगको साझेदारीमा भैरवी गाउँपालिकाको केन्द्रमा रहेको भैरीकालिकाथुम स्वास्थ्यचौकीमा उक्त शिविर सञ्चालन गरिएको हो । दुर्गम भैरवीका स्थानियहरुको सामान्य रोग देखी यतिबेलाको हिउँदे समयमा चिसोबाट हुने संक्रमणबाट हुने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै दुल्लु अस्पतालका डाक्टरहरुद्धारा शिविरमा सहभागि स्थानियको स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य शिविरको उद्धघाटनको अवसरमा बोल्दै भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिका विगत देखी नै जनताको स्वास्थ्यमा सजक रहेको भन्दै यतिबेलाको बदलिदो हावापानी र चिसोबाट वृद्धवृद्धाहरु र बालबालिकाहरुमा देखिने समस्यालाई न्युनिकरण का लागि एक दिने शिविरले पनि ठुलो उपलव्धी हाँसिल हुने भन्दै स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिएको बताउनुभयो ।
स्वास्थ्य शिविर सञ्चालनको क्रममा भैरवी गाउँपालिका वडा नं.४,५,७ का वडाध्यक्ष, जनप्रतिनिधिहरु, सवास्थ्यकर्मीहरु लगाएत कर्मचारीहरुको उपस्थितिमा भैरवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शम्शेर बहादुर विष्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
स्वास्थ्य परिक्षण शिविरमा भैरवी गाउँपालिकाका सबै वडाका करिब ५०० भन्दा बढि नागरिकहरुले सेवा लिने अपेक्षा गरिएको छ।