दुल्लु १ मा बेबारिसे विद्युतलाईनले जनजिवन प्रभावित….
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१७ जेठ,२०८२

हरेक क्षेत्रको विकास निर्माणले त्यस क्षेत्रका नागरिकहरुलाई सुविधा प्रदान गरिरहेको हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत लगाएत विकासका विभिन्न पुर्वाधारहरु आवश्यकता र त्यस क्षेत्रको मागका आधारमा राज्य स्तरबाट सरकारले निर्माण गरिरहेको हुन्छ । ति संरचना र विकास निर्माण दीर्घकालिन र प्रत्यक्ष सेवाप्रदायकहरुका लागि लाभ अनि राहत मिल्ने गरि निर्माण गरिनु अति आवश्यक हुन्छ । आवश्यकता अनुसार निर्माण नभएका कतिपय विकास निर्माणले सेवाप्रदायकलाई नै वाधा समेत पुग्ने गरेको हुन्छ ।
त्यसतै विकास निर्माणको एक नमुना हो दैलेखको दुल्लु नगरपालिका वडा नं. १ मा विस्तार गरिएको विद्युत लाइन । २०७५÷७६ बाट बिस्तार संगै सञ्चालनमा आएको उक्त विद्युत लाइनबाट यतिबेलासम्म पनि सेवाग्राहीहरुलाई हैरानी खेप्नु परिरहेको छ । दुल्लु नगरपालिकाको बाक्लो बस्ति भएको उक्त वडाका करिब ४५० घरधुरीहरु, वडा कार्यालय, विद्यालय क्षेत्रमा विद्युतलाइनको लागि सामान्य एक ट्रान्सफर्मर जडान गरिएको छ । जसबाट जुनकिरीको जस्तै उज्यालो बाल्नुपर्ने वाध्यता छ भने सामान्यरुपमा मोवाइल समेत चार्ज गर्न हम्यहम्य हुने गरेको तथ्य यतिबेला पनि ज्युँदै छ । यति मात्र होइन उक्त विद्युतको लाइन उचित तरिकाले बिस्तार गरिएको छैन । तारहरु भुईछुने गरेर स्थानियको बारी र बाटोमा छरपस्ट पारिएको छ , जसले कुनैदिन आकस्मिक घटना घट्ने डरमा स्थानियबासी रहेका छन ।
अर्को तर्फ पुरै वडाक्षेत्रको विद्युत लाइन वितरणका लागि राखिएको ५ केविको ट्रान्सफर्मरले वडाक्षेत्रका नागरिकहरुको घरको सामान्य बत्ति बाल्न, मोवाइल चार्जमा समेत समस्या भइरहेको मात्र छैन वडा कार्यालयका उपकणहरु समेत चल्न नसक्दा सेवाग्राहीहरुलाई वडाबाट दिइने सेवाहरु समेत प्रभावित बन्न पुगेका छन ।
उक्त समस्या समाधानका लागि वडास्तरबाट नगरपालिका हुदैँ जिल्ला विद्युत कार्यालयसँग माग गर्दा पनि यतिबेला सम्म समस्याको समाधान हुन सकिरहेको छैन । विद्युतको लाईन मर्मतका लागि कर्मचारीहरु आउने र सामान्य मर्मत पश्चात फर्किने गरेको भएपनि समस्याको दीर्घकालिन समाधान हुन नसक्दा हैरानी खेप्नु परिरहेको दुल्लु नगरपालिका वडा नं. १ का वडाध्यक्ष तर्क बहादुर खड्काको भनाई रहेको छ ।
यसरी जनताको लागि करोडौँको लगानीमा सञ्चालित उक्त विद्युत लाइनबाट सेवाग्राहीहरुले राहत महशुस गर्नुको साटो हैरानी खेप्नु एकातिर विद्यमान छ भने अर्कोतिर माकुराको जालो जस्तै भुँईभरी छरिएर रहेको तारबाट कहिले कस्को ज्यान जानेहो भन्नेमा ठुलो चिन्ता रहेको छ । यस तर्फ जिल्ला विद्युत कार्यालय दैलेखको समयमै ध्यान जानु आवश्यक छ ।
